इरानी महिलाहरूको सुरक्षाको प्रत्याभूति हुन पर्ने माग

अन्तर–पुस्ता महिलावादी मंच (IGFF), नेपालको महिला आन्दोलन सुदृढीकरण तथा महिला मानव अधिकार उपभोग गर्न सक्ने वातावरण निर्माणका लागि सन् २०१९ मा स्थापित एक अनौपचारिक सञ्जाल हो । यसले आफ्नो स्थापनाकाल देखिनै महिलालाई केन्द्रमा राखी सिमान्तकृत तथा पछाडि परेका र पारीएका वर्गहरुको हक, हित र अधिकारको सुनिश्चितता, सारभूत समानताको संरक्षण, प्रवर्धन र परिपूर्ति तथा सबै प्रकारको विभेदको अन्त्य  सहित कानुनको शासन र कानुनको सर्वोच्चता स्थापनाको निमित्त निरन्तर आवाज उठाउँदै आईरहेको छ ।

 हिजाब सम्बन्धी कानुनको उल्लंघन गरेको आरोपमा पक्राउ परेकी इरानी युवती २२ वर्षिया महसा अमिनीको प्रहरी हिरासतमा मुत्यु  भएपछि इरानमा चर्को हिंसा बढेको छ । हिंसाका कारण पचासौं मानिसले ज्यान गुमाईसकेको अवस्था छ । यसले संसार भरिका नारीवादीहरुको ध्यान आकर्षित गरेको छ ।

इरानी महिलाहरूले स्वतन्त्रता तथा समानताको अधिकारको निमित्त उठाईरहेको आवाज विरूद्ध पितृसत्तात्मक राज्यसत्ता तथा त्यसलाई समर्थन गर्ने कट्टर-पंथीहरूले गरिरहेको हिंसात्मक गतिविधी रोकिनु पर्छ । हिजाब लगाउँनु वा नलगाउँनु व्यक्तिगत छनौट हो । यसलाई मानव अधिकारले सुनिश्चित गरेको छ । स्वतन्त्रता  तथा न्यायप्रेमि इरानी महिलाहरूको सुरक्षाको प्रत्याभूति हुन पर्ने  माग राख्दै हामी, यस अन्तर–पुस्ता महिलावादी मंच (IGFF) का सम्पूर्ण  देशव्यापी सदस्यहरुको तर्फ बाट, इरानी सरकारलाई मानव अधिकार उल्लङ्घनका कार्यहरू तत्काल रोक्न र इरानी महिलाहरूको स्वतन्त्रता सुनिश्चित गर्न अपील गर्दछौं।

Leave a Reply

Website Built with WordPress.com.

Up ↑